सूर्यविनायकदेखि धुलिखेलसम्म सुरुङमार्ग, जापानले बनाइदिने
काठमाडौँ – अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माणका लागि यही मे महिनामा ऋण सम्झौता हुने भएको छ ।
सुरुङमार्ग निर्माणका लागि नेपाल र जापान सरकारका बीचमा सम्झौता गर्ने तयारी भैरहेको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए । उनले मेमा जापानी टोली ऋण सम्झौताका लागि नेपाल आउने समेत बताए ।
नेपाल र जापानबीचमा मे मा हुन लागेको द्विपक्षीय बैठकले सुरुङमार्ग र सडक विस्तार सम्बन्धी निर्णय लिने बताइएको छ । महाशाखाका अनुसार मे अन्तिम साता जापानी टोली नेपाल आउनेछन् । महाशाखा प्रमुख श्रेष्ठले ऋण सम्झौता भएपछि निर्माणको प्रक्रिया अघि बढ्ने जानकारी दिए ।
गत मार्चमा जापानी अन्तराष्ट्रिय सहयोग नियोग(जाइका)को टोली नेपाल आइ सुरुङ मार्ग निर्माणका बारेमा एक चरणको छलफल गरेर गैसकेका छन् । उक्त द्विपक्षीय छलफलमा ऋण सम्झौता गरेर अघि बढ्ने निर्णय भएको थियो । यो सुरुङ मार्ग दुई वटा हुनेछ । जसमा धुलिखेल जान र आउनका लागि दुईवटा बाटो बन्नेछन् ।
जाइकाको ऋण सहयोगमा भक्तपुरको पलाँसेबाट साँगा निस्कने गरी करिब १.५ किमी सुरुङ मार्ग निर्माण हुनेछ । सुरुङमार्गमा धुलिखेलतर्फबाट आउने र भक्तपुरतर्फबाट जाने दुई फरक फरक लेन हुनेछन् ।
सुरुङमा भेन्टिलेटर र बत्तीको व्यवस्था गरिनेछ । चौबीसै घण्टा उज्यालो रहने यो मार्ग अक्सिजन सुरक्षित हुनेछ । सिसी क्यामरा र अग्नि नियन्त्रक उपकरण सडकमै राखिनेछ । सुरुङमार्गसहित सो स्थानको १६ किलोमिटर सडक ८ लेनमा विस्तार गरिनेछ । सुरुङमार्ग र सडक विस्तार गरी कूल २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
२ वर्षअघि जापानकै सहयोगमा तीनकुने–सूर्यविनायक सडक ६ लेनमा विस्तार भएको थियो । हाल यो सडकमा दैनिक करिब ७ हजार गाडी गुड्छन् ।
यो सुरुङमार्ग निर्माणपछि तातोपानी नाका र अरनिको वीपी राजमार्ग हुँदै आउने यात्रुलार्इ सहज हुनेछ । सुरुङमार्ग बनेपछि त्यस क्षेत्रमा अहिले दैनिक रुपमा घण्टौसम्म हुने गरेको जाम पुर्ण रुपमा हट्ने अपेक्षा गरिएको छ ।
भक्तपुरको पलाँसेबाट धुलिखेलतिर जानेबाटो अत्यन्त घुमाउरो र जोखिमपुर्ण रहेको छ । भक्तपुरको पलाँसे नजिकैको गणेश मन्दिर छेउबाट धुलिखेलतिर सुरुङमार्ग निर्माण गर्न लागिएको वैदेशिक महाशाखाले जनाएको छ ।
अहिले सुरुङ मार्गको सम्भाव्यता अध्ययन भैसकेको छ । ऋण सम्झौता भएपछि एक बर्षमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)तयार पार्ने र तीन बर्षभित्रमा सडक विस्तार र सुरुङमार्ग निर्माण सक्ने लक्ष्य रहेको महाशाखाले जनाएको छ